सूचना
सन्देश:
प्राचार्यको सन्देश | प्रा. अच्युतप्रसाद लामिछाने
संस्कृतं संस्कृतेर्मूलम्
वाल्मीकि विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठ हो। काठमाडौँको प्रदर्शनी मार्गमा अवस्थित यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको सोपाधिक पढाइ हुन्छ। वेद, वेदान्त, न्याय पूर्वमीमांसा, धर्मशास्त्र, इतिहास पुराण , तन्त्र ,ज्योतिष, सर्वदर्शन बौद्धदर्शन, व्याकरण, साहित्य जस्ता पौरस्त्य वाङ्मय सम्बद्ध विषयहरू शास्त्री एवं आचार्य तहमा क वर्ग अन्तर्गत पढाइ हुन्छन्। नेपाली ,अंग्रेजी अनिवार्य र ऐच्क्षिक दुवै रूपमा स्नातक तहमा पढाइ हुन्छन्। गणित अर्थशास्त्र र राजनीतिशास्त्रको पठन पाठन यहाँ स्नातक तहमा ऐच्छिक विषयका रूपमा हुने गरेको छ। योग तथा प्राकृतिक चिकित्सा, कर्मकाण्ड प्रशिक्षण तथा प्राक्शास्त्री (संस्कृत नपढेका  विद्यार्थीका लागि प्रवेशद्वार) का ६ महिने निरुपाधिक कक्षाहरू यहाँ सञ्चालित छन्।भोलिको विश्वको भाषिक नेतृत्व संस्कृत भाषाले मात्रै गर्न सक्ने जीवन्त सम्भावना बोकेको विश्वका कैयन भाषाको मातृभाषा समेत रहेको संस्कृत भाषाको पठनपाठन हुने वाल्मीकि विद्यापीठ सूचना र सञ्चारबाट टाढा रहन सक्दैन, रहनु पनि हुँदैन । आजको युग सूचना र प्रविधिको युग हो यसर्थ संस्कृत वाङ्मय भित्र लुकेको अथाह ज्ञानराशिलाई समाज समक्ष पस्किनु आजको आवश्यकता हो। यसका लागि पौरस्त्य वाङ्मयका विद्वानहरुले आआफ्नो विषय र क्षेत्रमा प्रविधिसँग जोडिएर  गहन गम्भीर योगदान दिनु आवश्यक छ । पश्चिमा जगतले हाम्रै वेदवेदाङ्ग एवं उपनिषद्हरूबाट विचार ग्रहण गरी त्यसलाई प्रयोगात्मक स्वरूपमा प्रस्तुत गरे र प्रविधिका माध्यमबाट विश्वलाई नेतृत्व गर्ने कोसिस गरिरहेका छन् ।अब हामीले आफ्नो ज्ञानको मूल स्रोत र सामर्थ्यलाई  पहिचान गरी समाजलाई गति दिने बेला भएको छ यसका लागि संस्कृत पठनपाठन एवं यसको अध्ययन महत्वपूर्ण जग बन्न सक्दछ। यसै क्रममा वाल्मीकि विद्यापीठले आफ्नो अध्ययन अध्यापन प्राज्ञिक कर्म, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गोष्ठी, सभासमारोह एवं प्रकाशनलाई व्यवस्थित गर्न र समाज समक्ष पुर्याउन आफ्नै वेबसाइटको प्रारम्भ गर्दैछ। यस सुखद अवसरमा संस्कृतानुरागी सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभेच्छा प्रकट गर्दै आगामी संस्कृत यात्रा प्रविधिमय बन्न सकोस् भन्ने शुभभाव व्यक्त गर्दछु।